मन्त्रीको गाडीले ठक्कर दिएकी बालिका अस्पतालबाट डिस्चार्ज
ललितपुरको हरििसिद्धीमा मन्त्री सवार गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका-२८ डेरा गरी बस्ने ११ वर्षीया उषा मगर सुनुवारलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।
उपचारपश्चात उनी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।
एसपी जोशीका अनुसार बालिकाको गाला र घुँडामा चोट लागेको थियो।
'तत्कालै अस्पताल पुर्याएर उपचार गरिएको थियो। अहिले डिस्चार्ज भइसक्नुभएको छ,' एसपी जोशीले सेतोपाटीसँग भने।
बालिकालाई ठक्कर दिएर मन्त्रीको गाडी फरार भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए।
पछि वडा कार्यालयमा ललितपुरका सिडिओसहितको रोहबरमा भएको छलफलबाट घाइतेको सम्पूर्ण खर्च सरकार तथा सम्बन्धित पीडक पक्षबाट ब्योहर्ने गरी सहमति भएको थियो।
थर्ड पोल 