मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले, याकखर्क ल्याइँदै

मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले, याकखर्क ल्याइँदै

मुस्ताङ घुम्न गएर सम्पर्कविहीन भएका १५ जनालाई नेपाली सेनाले फेला पारेको छ। 

मुस्ताङको हिडन भ्यालीमा घुम्न जाँदा हिउँ परेपछि सम्पर्कबिहीन भएका तीन जना बेलायती नागरिक र १२ जना नेपालीलाई सेनाले भेट्टाएको छ।

तीन दिनपछि नेपाली सेनाको टोलीले थासाङ गाउँपालिकामा रहेको हिडन भ्यालीबाट १५ जनालाई याकखर्क ल्याइरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

उनका अनुसार याकखर्कमा १५ जनाको टोलीको उद्धारका लागि थप मद्दत राखिएको छ।

‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनाको टोली लिंकअप भएका छन्। उहाँहरूलाई याकखर्क भन्ने ठाउँमा ल्याउँदैछन्,’ उनले भने, ‘थप लजिस्टिकको टोली याकखर्कमा छन्।’ 

त्यस ठाउँमा पाँच फिटसम्मको हिउँ परेकाले घुम्न गएका पर्यटकहरूसँग सम्पर्क टुटेपछि सेनाको टोली खटिएको थियो। उनीहरूलाई तीन दिन पछि नेपाली सेनाको टोलीले भेट्टाएको हो।

पर्यटकको टोली बुधबारदेखि सम्पर्कबिहीन भएका थिए।