युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ दुई वर्षदेखि बेखबर

युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ दुई वर्षदेखि बेखबर

युक्रेनी सेनाको कब्जामा रहेका काभ्रे मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल दुई वर्षदेखि बेखबर छन् । २६ महिनाअघि अध्ययनका लागि मस्को गएका ढकाल रुसी सेनामा भर्ना भएका थिए।

१३ मंसिर २०८० मा बुबालाई सम्बोधन गरेर अडियो म्यासेजमार्फत पठाएको आवाज सुनेका परिवारले त्यसपछि सिद्धार्थको न आवाज सुने, न पछिल्लो अवस्थाबारे जानकार नै छन् ।

बुबा बिदुर ढकाललाई ‘बुबा, म आजबाट उता वार (युद्ध) मा जाँदैछु, ८/१० दिन टावर हुँदैन । कुरा नहुन पनि सक्छ’ भनेर अडियो पठाएको ६ दिनपछि युक्रेनी सेनाले एक भिडियो सार्वजनिक गरेसँगै सिद्धार्थ युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो । त्यसपछि अहिलेसम्म उनी कुन र कस्तो अवस्थामा छन्, पत्तो छैन ।

राम्रोसँग बोल्न नसक्ने सिद्धार्थका बुबा बिदुर ढकाल र आमा गंगा ढकाल सिद्धार्थ आउने बाटो हेर्दै बसेका छन् ।