युक्रेनमा युद्धविरामबारे पुटिनसँग वार्तापछि ट्रम्पले भने- बल अब जेलेन्स्कीको कोर्टमा छ

युक्रेनमा युद्धविरामबारे पुटिनसँग वार्तापछि ट्रम्पले भने- बल अब जेलेन्स्कीको कोर्टमा छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि निर्णयको जिम्मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन्।

शनिबार अलास्कामा पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्।

'धेरै बुँदामा सहमत छौं। तर सम्झौता भएको छैन। अन्तिम सहमति नभएसम्म सम्झौता भएको मानिँदैन। तर तत्कालका लागि धेरै प्रगती भएको छ,' उनले भने।

उनले महत्त्वपूर्ण विषयमा  सहमति हुन बाँकी रहेको बताएका छन्। तर त्यो विषय के हो भन्ने खुलाएका छैनन्।

' अब यो जेलेन्स्कीमा निर्भर रहन्छ। युरोपेली नेताहरू पनि संलग्न हुनुपर्छ। तर अन्ततः जेलेन्स्कीमाथि नै निर्भर रहने हो। अर्को बैठकको तयारी भइरहेको छ। उनीहरू चाहन्छन् भने त्यो बैठकमा म पनि हुन्छु,' ट्रम्पले भनेका छन्।

वार्ताबाट उनले पुटिन पनि युद्ध रोक्न चाहन्छन् भन्ने देखिएको बताए।

'हामी दुईबीच निकै इमान्दारीपूर्वक कुरा भयो। मलाई लाग्छ उनी पनि यो काम पूरा गर्न चाहन्छन्,' उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक तर केही कडा भएको बताएका छन्।