रूपन्देहीको सियारीका ४७६ परिवारले पाए जग्गाधनी प्रमाणपूर्जा
पछिल्लो समय रुपन्देहीमा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासी हरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको छ।
गत असार २२ गते कञ्चन गाउँपालिकाका ४५१ जना भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको आयोगले बिहीबार सियारी गाउँपालिकामा जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको हो।
भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाका अनुसार सियारी गाउँपालिकामा वर्षौंदेखि जग्गा किनेर बसोबास गर्दै आएका ४७६ जनालाई बिहीबार जग्गाधनी पूर्जा वितरण गरिएको हो।
आयोगका अध्यक्ष थापा र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले स्थानीय प्रेम बहादुर दर्जीलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेर लालपूर्जा वितरण कार्यको सुरुआत गरेका थिए।
वर्षौंसम्म बसोबास गर्दै आए पनि लालपूर्जा पाउन नसकेका दर्जीले जग्गाधनी प्रमाणपूर्जा पाएपछि जग्गाको मालिक बन्ने आफ्नो सपना पुरा भएको भन्दै खुसी व्यक्त गरे।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले आयोगले सुकुम्वासी समस्या दिगो रूपमा समाधान गर्ने सरकारको लक्ष्य अनुरूप लालपूर्जा वितरणको कामलाई अगाडि बढाएको भन्दै लालपूर्जा पाउन नसकेका बाँकी भूमिहीनहरूलाई पनि छिटो जग्गाधनी पूर्जा वितरण गर्न आग्रह गरे।
थर्ड पोल 