रास्वपाले भन्यो– भदौ २४ को प्रदर्शनमा अराजक गतिविधि गर्नेले पार्टी छाड्नू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले भदौ २४ को प्रदर्शनमा अराजकतालाई प्रश्रय दिने खालको गतिविधि गर्नेले पार्टीसँगको आबद्धता छाड्न आग्रह गरेका छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत् उनले अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेका हुन्।
‘एक थोपा रगत नबगाइ अहिंसाको जगमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत प्रतिगामी वा हिंस्रक समूहसँग जोडेर रास्वपाको घुसपैठ भन्ने जस्तो अफवाह र भ्रमहरू छर्न व्यस्त भएका छन्,’ उनले भनेका छन्, ‘तर तिनले के बुझेनन् भने रास्वपा आफैमा बलियो र वैध राजनीतिक शक्ति हो। रास्वपाले कुनै पनि राजनीतिक गतिविधि तिनले जस्तो लुकेर वा पर्दापछाडिबाट गर्दैन र जस्तोसुकै परिस्थितिमा पनि हिंसात्मक गतिविधिलाई प्रश्रय दिँदैन।’
भदौ २३ गते हातमा ब्याग र किताब बोकेर माइतीघरबाट बानेश्वर पुगेका निहत्था युवा र विद्यार्थीलाई पुराना दलहरूको कब्जामा रहेको सत्ताले टाउको र छाती ताकीताकी गोली दागेको उनले बताएका छन्। सरकारको नालायकी, दम्भ र अक्षमताकै कारण उत्पन्न बर्बर दमनले विद्यार्थी र युवाहरू सहित १९ जनाको ज्यान गएपछि तात्कालीन सरकारले आफ्नो अक्षम्य अपराधबाट नागरिकहरूमा उत्पन्न आक्रोश र त्यसले निम्त्याउन सक्ने भयावह परिस्थितिको विवेकपूर्ण आँकलन गर्नुपर्ने पनि उनले बताएका छन्।
थर्ड पोल 