शेखर समूहको निष्कर्षः कांग्रेस अनुशासन समितिको निर्णयमाथि गम्भीर असन्तोष, ‘कारबाही नै अनुशासनविपरीत’
काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले केही नेताहरूमाथि गरेको कारबाहीप्रति शेखर कोइराला पक्षले गम्भीर असन्तोष प्रकट गरेको छ। आज बिहान बालुवाटारमा बसेको कोइराला पक्षको बैठकले कारबाही प्रक्रिया विधिविपरीत भएको निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी नेताहरूले अनुशासन समितिले पार्टीको मूल भावना र आन्तरिक लोकतन्त्रको उपहास गर्नेगरी निर्णय गरेको आरोप लगाएका छन्। उनीहरूको दाबी छ— समितिले अनुशासन उल्लङ्घन गर्ने काम स्वयं गरेको छ।
ूपार्टीभित्र एउटै विषयमा फरक मापदण्ड अपनाएर कसैलाई काखा कसैलाई पाखा बनाउने प्रवृत्ति गम्भीर र प्रत्युत्पादक हुन्छ,ू बैठकपछि जारी टिप्पणीमा भनिएको छ, ूयसले पार्टीको एकता र विश्वसनीयता गुमाउने खतरा हुन्छ।ू
बैठकले कारबाहीमा परेका नेताहरूलाई अन्तिम पटक सचेत गराएर आममाफी दिनु नै उपयुक्त हुने सल्लाह दिएको छ। कोइराला पक्षले यस्तो आममाफीले पार्टीलाई एकताबद्ध गर्न सघाउने बताएको छ।
यसअघि बुधवार कांग्रेस अनुशासन समितिले हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोपमा केही नेताहरूमाथि कारबाही गरेको थियो। तर, तीमध्ये धेरैजसो नेता कोइराला समूहका परेपछि उनीहरूले आज बिहान आन्तरिक बैठक बोलाएर औपचारिक प्रतिक्रिया दिएका हुन्।
कोइराला समूहको असन्तोषले कांग्रेसभित्र गहिरिँदो ध्रुवीकरण पुनः सतहमा आएको देखिएको छ। अब पार्टी नेतृत्वको अगाडि मुख्य चुनौती भनेको अनुशासन कायम राख्दै आन्तरिक असहमति मिलाउने देखिएको छ।
थर्ड पोल 