सामाजिक सञ्जाल बन्द : आफ्नै प्लेटफर्म बनाउने अवसर

सामाजिक सञ्जाल बन्द : आफ्नै प्लेटफर्म बनाउने अवसर

नेपाल सरकारले हालै फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स (ट्विटर), लिङ्क्डइन, रिडिट लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दै त्यसलाई कार्यान्वयनमा ल्याइसकेको छ। सरकारको भनाइ अनुसार, बारम्बार चेतावनी दिंदै ती कम्पनीलाई नेपालमा दर्ता हुन, स्थानीय प्रतिनिधि राख्न र कानूनी दायित्व पूरा गर्न आग्रह गरिए पनि उनीहरूले त्यसलाई बेवास्ता गरेपछि अन्तत: यस्तो कठोर कदम चालिएको हो।

यस निर्णयले तत्कालै लाखौं नेपालीको दैनिकीमा असर पारेको छ। धेरै मानिसले आफ्नो विचार राख्ने, व्यवसाय प्रवर्धन गर्ने, पढाइ–लेखाइ गर्ने, समाचार आदान–प्रदान गर्ने र सम्पर्क कायम गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएका सामाजिक सञ्जाल अचानक बन्द हुँदा असुविधा हुनु स्वाभाविक हो। तर यस घटनाले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ— हामी सधैं विदेशी कम्पनीमै निर्भर रहिरहने वा आफ्नै सुरक्षित र विश्वसनीय डिजिटल प्लेटफर्म निर्माण गर्न अघि बढ्ने? यसै अवसरलाई सरकारले आफ्नो ‘नागरिक एप’ मार्फत उपयोग गर्न सक्छ।