सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।

कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सीसीटीभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो ।

सीसीटीभी क्यामराका कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्षसम्म पुर्‍याउनका लागि कामपा र नेपाल टेलिकमसँग सम्झौतासमेत भइसकेको छ । यससँगै नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि टेलिकमले सेवा उपलब्ध गराउनेछ ।

सीसीटीभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ ।