अध्ययन बिदा दुरुपयोग : त्रिविले फिर्ता माग्यो ब्याजसहित रकम

अध्ययन बिदा दुरुपयोग : त्रिविले फिर्ता माग्यो ब्याजसहित रकम

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीहरुबाट ब्याजसहित तलबभत्ता फिर्ता मागेको छ । त्रिविले आज सार्वजनिक सूचना जारी गरी ३५ दिनभित्र रकम फिर्ता गर्न भनेको हो ।

त्रिविका विभिन्न अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र, क्याम्पस, विभाग तथा कार्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले स्नातक, स्नातकोत्तर तह र विद्यावारिधि अध्ययन अनुसन्धानका लागि अध्ययन बिदा लिएमा अध्ययन बिदा लिएको अवधिभर अनिवार्य त्रिविमा सेवा गर्नुपर्ने नियम छ । तर बिदाको दुरुपयोग भएको पाइएपछि त्रिविले अध्ययन बिदा बस्दा लिएको तलबभत्ता र सोमा लाग्ने ब्याजसमेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ ।

यही प्रक्रिया अन्तर्गत त्रिविले आफ्नो बैंक खाता सार्वजनिक गर्दै त्यसमा रकम जम्मा गरी त्यसको लिखित जानकारी आर्थिक प्रशासन शाखामा गराउन भनेको छ ।

अध्ययन बिदा लिएर विदेश जाने र उतै लुक्ने, कोहीले अध्ययन नै पूरा नगरी फर्किने गरेको समाचार अनलाइनखबर डटकममा प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो । उक्त समितिले करिब चार सय प्राध्यापकले बिदाको दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको थियो ।