आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा

आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं ।  जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ । बुधबार मध्याह्न १२ बजे आसपास खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मार्न अख्तियारको टोली पुगेको थियो ।

धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले छानबिनको समेत माग गरेको थियो । अख्तियारमा यसबारेमा उजुरीसमेत परेपछि आयोग सक्रिय भएको हो ।

इप्पानका पदाधिकारीहरुले धितोपत्र बोर्डले प्रवर्द्धकहरूसँग ५० करोडभन्दा कम चुक्ता पुँजी भएका लागि ७ प्रतिशत र ५० करोडभन्दा बढी चुक्ता पुँजी भएकालाई ७ प्रतिशतभन्दा बढी कमिसन मागेको आरोप लगाएका छन् ।