इरानी आक्रमणबाट इसराइलमा पहिलो मृत्युको विवरण, राजधानीमै भवनहरूमा क्षति

इरानी आक्रमणबाट इसराइलमा पहिलो मृत्युको विवरण, राजधानीमै भवनहरूमा क्षति

इरानको आक्रमणबाट इसराइलमा पहिलो मृत्युको घटना सार्वजनिक भएको छ।

इरानले गएराति गरेको हवाई आक्रमणमा परी मानिसको मृत्य भएको पहिलो विवरण सार्वजनिक भएको हो।

अमेरिकी मिडिया सिएनएनका अनुसार रमत गान सहरमा एक महिलाको मृत्यु भएको छ।

रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ।

त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इसराइली सैन्य अधिकारीहरूले बताएका छन्।

एक जना प्रहरी प्रवक्ताले ती महिलाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। त्यहाँबाट अरू घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ।

घटनास्थलमा आपतकालीन उद्धार अधिकारीहरू खटिएका छन्।

इरानले इसराइलमाथि शुक्रबार रातभरि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। अधिकांश आक्रमण एयर डिफेन्स सिस्टमबाट निस्तेज पारिएको भए पनि केही प्रहारहरू ठूला भवन र अपार्टमेन्टहरुमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राजधानी तेल अभिभ र जेरूसलेममा शुक्रबार राति विस्फोटका ठूला आवाज सुनिएको  भनेर स्थानीयहरूले बताएका छन्।