उपचार खर्चका विषयमा यातायात कम्पनी र अस्पतालबीच विवाद, दुर्घटनाका सात घाइते बन्धक
सिरहा गोलबजारकी प्रमिला साह शनिबार बिहान जनकपुर न्युरो अस्पतालको शय्यामा सामान्य अवस्थामा थिइन् । बेड नम्बर १३ मा रहेकी प्रमिलाले हिँडडुल गर्दै सामान मिलाइन् । पानी खाँदै वार्डमा खटिएका स्वास्थ्यकर्मीलाई सोधिन्, ‘कहिया जाइदेबै ?’ (कहिले जान दिनुहुन्छ) चिकित्सकले भनेपछि मात्रै जान पाउने जवाफ पाइन्।
प्रमिलाले सबै कुरा ठीक हुँदाहुँदै किन जान नदिएको भन्दै पुनः प्रश्न गरिन्। स्वास्थ्यकर्मीले केही जवाफ दिएनन्।
प्रमिला २३ दिनदेखि अस्पतालमा भर्ना छिन्। अस्पतालका चिकित्सक डा. सञ्जय मण्डलका अनुसार प्रमिलाको छातीमा चोट लागेर रगत जमेको थियो। तर, अहिले उनी ठीक रहेको डा. मण्डलले स्वीकारे। ‘उहाँको अवस्था ठीक छ । अहिले कुनै प्रकारको जोखिम छैन,’ उनले भने, ‘अब एक/दुई दिनमा डिस्चार्ज भइहाल्छ ।’
अस्पताल परिसरमै भेटिएका अर्का बिरामी बिन्देश्वरी नायकका छोरा अशोकले चार दिनदेखि अस्पतालले घर जान नदिएको आरोप लगाए । ‘चार दिनअघि डिस्चार्ज गर्यो । म सिरहा कर्जनहाबाट त्यही दिन लिन आएँ,’ अशोकले भने, ‘अब अस्पतालले जान दिएको छैन ।’
चिकित्सक डा. अजय राउतले बिन्देश्वरीको स्पाइन सर्जरी भएको बताए । ढाडको हड्डी भाँचिएकी उनी पनि सामान्य अवस्थामा रहेको डा. राउतको भनाइ छ । गत चैत १ मा जनकपुरबाट राजविराज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको धनलक्ष्मी ट्राभल्सको बस दुर्घटना हुँदा ४१ जना घाइते भएका थिए । अन्य डिस्चार्ज भए पनि सात जना घर जान पाएका छैनन् ।
यातायात कम्पनी र अस्पतालबीच खर्च बेहोर्ने विषयमा विवाद हुँदा उनीहरू अस्पतालमै बस्नुपरेको हो । बिरामीलाई जनकपुर न्युरो अस्पतालले बन्धक बनाएर राखेको जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीको आरोप छ । अस्पतालका अधिकारीले भने यातायात कम्पनीले खर्च नबेहोरी उल्टै अस्पतालका सुरक्षा गार्डमाथि कुटपिट गरेको बताएका छन् ।
थर्ड पोल 