एचपीभी खोपका कारण बालिकाका हातखुट्टा नचल्ने भएपछि छानबिनको माग

एचपीभी खोपका कारण बालिकाका हातखुट्टा नचल्ने भएपछि छानबिनको माग

। दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ। 

प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी हुन्।

सदनमा सांसद सिद्दिकीले जानकारी गराए अनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाइए लगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो। खोपपश्चात गम्भीर बिरामी परेकी बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आइसियुमा राखेर उपचार गरिएको थियो। 

हाल उनी घर फर्किए पनि हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेको सांसद सिद्दिकीले बताइन्। उनले स्वास्थ्य मन्त्रालयलाई उक्त घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था मिलाउन जोडदार माग गरिन्।