क्यामेरामा अनुहार देखिएकै भरमा थुनामा राख्न पाइँदैन, दसैँअघि नै छाडियोस्: सांसद सेञ्चुरी

क्यामेरामा अनुहार देखिएकै भरमा थुनामा राख्न पाइँदैन, दसैँअघि नै छाडियोस्: सांसद सेञ्चुरी

 राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेनजी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दसैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छन्। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानुनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दसैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

संसद्को शून्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा र क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई राज्यले लामो समयदेखि थुनामा राखेको भन्दै आपत्ति जनाइन्। केही दिनअघि सदनमा सहिदकी आमाले न्यायका लागि बगाएको आँसु स्मरण गर्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाइन्।

‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन्,’ सांसद सेञ्चुरीले भनिन्, ‘हामीले पटक–पटक सम्बन्धित मन्त्रालयमा कुरा पुर्‍यायौँ र सरकारको ध्यानाकर्षण गरायौँ, तर यो विषय अझै किन टुङ्गेन?’