कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने तयारी
निर्वाचन आयोगले कात्तिकको दोस्रो साता प्रतिनिधिसभा उपनिर्वाचनको प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेट गर्दै प्रतिनिधिसभा, प्रदेशसभाका रिक्त स्थान र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे परामर्श गरेको छ।
प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो। प्रतिनिधिसभाका सदस्यको रूपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ।
रूपन्देही ३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधनपछि उक्त स्थान रिक्त छ। यस्तै मनाङ १ (२ बाट निर्वाचित दीपक मनाङेको पद रिक्त भएपछि उपनिर्वाचन गर्नु परेको हो। यसैगरी आयोगले स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेकोबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ।
थर्ड पोल 