कानूनअनुसार खरिद गरेर लिइएको जग्गा निजी सम्पत्ति हो, कसैले दिएको भन्न मिल्दैनः गिरीबन्धु टी-इस्टेट

कानूनअनुसार खरिद गरेर लिइएको जग्गा निजी सम्पत्ति हो, कसैले दिएको भन्न मिल्दैनः गिरीबन्धु टी-इस्टेट

कानूनअनुसार खरिद गरेर लिइएको जग्गालाई सरकारले दिएको भन्न नमिल्ने गिरीबन्धु टी-इस्टेटका प्रतिनिधिहरूले बताएका छन्।

आज सिंहदरबारमा भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गिरीबन्धु टी-इस्टेटका प्रतिनिधिहरूले कानूनअनुसार सट्टापट्टा गरिएको विषयलाई अदालतमा लगेर विवादित बनाउन खोजिएको बताएका छन्।

भूमिसम्बन्धी ऐनको दफा १२ को उपदफा (ख) २ मा नेपाल सरकारद्वारा जारी सूचित आदेशमा उल्लेखित हदबन्दी बमोजिम संस्था उद्योग, प्रतिष्ठान, कम्पनी वा आयोजनाले खरिद गरेर लिएको जग्गा हदबन्दी छुट हुने भन्ने व्यवस्था छ।

चिया खेती र चिया उत्पादन गर्न सोही दफाअनुसार खरिद गरेर गिरीबन्धु टी-इस्टेटको जग्गा लिइएको गिरीबन्धु टी-इस्टेटका प्रतिनिधि कृष्णप्रसाद भण्डारी बताए।

उनले यो जग्गा नेपाल सरकार, अन्य निकाय कसैले गिरीबन्धु टी-इस्टेटलाई जग्गा नदिएको प्रष्ट पारे। 

उनले त्यसरी दिने कानून पनि नरहेको उल्लेख गरे।