छठको तेस्रोदिन आज सझुका अरख

छठको तेस्रोदिन आज सझुका अरख

महोत्तरीसहित मधेशप्रदेशको विभिन्न जिल्लामा सोमबार  छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ। व्रतालु आज निराहार व्रतमा छन्। निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ। वर्तालु आज यही ‘सझुका अरख’ को तयारीमा छन्।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ। कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए।

श्रद्धा निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा यहाँका जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक बनाइएका छन्। वर्तालुले मङ्गलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि  छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ।  व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

यसअघि गत शनिबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर वर्तालुले पवित्र स्नान गरेर व्रत संकल्प गर्दै ‘नहाय–खाय’ विधि गरेका थिए। यसलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ। यसैगरी दोस्रो दिनको ‘खरना’ विधि आइतबार सम्पन्न भएको छ।