छठको मुख्य उपासना स्थलमा महानगरको सरसफाइ
सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारुकतासाथ सम्पन्न गरेको छ ।
यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।
महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ । सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।
थर्ड पोल 