भूपरिवेष्टित देशका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री ओली
– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित देशहरुका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताउनुभएको छ ।
तुर्कमेनिस्तानको अवाजामा चलिरहेको भूपरिवेष्टित विकासशील देशहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देशहरु विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको समेत बताउनुभयो ।
त्यस्तै ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ उच्चस्तरीय विषयगत बैठकमा सम्बोधनका क्रममा उहाँले भूपरिवेष्टित देशहरुको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकोमा जोड दिनुभयो ।
सम्बोधन अघि प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ ।
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती शहर अवाजामा रहेका प्रधानमन्त्री ओली आज पनि विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
उहाँले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नुहुने छ ।
यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुहुनेछ ।
थर्ड पोल 