मेयर हर्क साम्पाङको हङकङ भ्रमण विवादित

मेयर हर्क साम्पाङको हङकङ भ्रमण विवादित

धरानका मेयर हर्क साम्पाङ राईको हङकङ भ्रमण विवादित बनेको छ। राई नेपाल फेस्ट २०२५ का लागि प्रमुख अतिथि बनेर हङकङ आउने तय भएको थियो। उनले फेसबुकमार्फत, सुम्निमा पारुहाङको प्रतिमा स्थापनाका लागि आर्थिक सहयोगको कार्यक्रम हुने भएमात्र आफू हङकङ आउने जानकारी दिए। त्यसपश्चात् किराया हङकङ तथा भाषिक संस्थाहरूले संयुक्त रूपमा एक कार्यक्रमको तय गरेका थिए। जानकारी भेलाको आयोजना गदै ‘मिट एन्ड ग्रिट हर्क साम्पाङ’ कार्यक्रमको रूपरेखा सार्वजनिक गरिएको थियो। 

सार्वजनिक कार्यक्रममा चुला दर्शनढोग, साक्षात्कार, सम्मान, अल्ट्रा ट्रेल भिजिट तथा विदाइ लगायतका कार्यक्रम राखिएका थिए। आयोजक संस्थाले सहयोग रकम बोलकबोल र कार्यक्रमको व्यापक तयारीलगायतका बारेमा अन्तर्वार्ता, सूचनालगायतका प्रचारप्रसारका सामग्रीसमेत सार्वजनिक गरिसकेको थियो। विवाद के हो ? 

आइतबार हङकङ एकीकृत नेपाली समाज (हिन्स)ले फेसबुकमा मेयर हर्क साम्पाङको भिसा र तस्बिर राख्दै आफ्नो धारणा सार्वजनिक गर्‍यो। हिन्सले नेपाल फेस्टका अन्य कलाकार र मेयर साम्पाङको भिसा आफ्नो संस्थामार्फत (ईम्प्लोइमेन्ट) भिसा लगाइएकाले नेपाल फेस्टबाहेक अन्य कार्यक्रममा सहभागी हुनु हङकङ अध्यागमन विभागको दृष्टिकोणमा गैह्रकानुनी हुने भएकाले, मेयर साम्पाङलाई राखेर गरिने कार्यक्रमहरूका बारेमा हिन्ससँग सम्पर्क राख्न अनुरोध गरिएको थियो। 

घटनाक्रम अनुरूप सामाजिक संञ्जालमा व्यक्त विचार र सार्वजनिक धारणाअनुसार मेयर साम्पाङले आफूलाई गलत भिसा अप्लाई गरिदिएको र सही समन्वय नभएकाले सुम्निमा पारुहाङको सहयोग संकलन अभियान अनिश्चित हुने भएको धारणा फेसबुकमार्फत नै सार्वजनिक गरे। 

तत्कालै हिन्सले सामाजिक संञ्जालमार्फत मेयर साम्पाङको भिसा उपयुक्त भएको र कार्यक्रममा बाधा अड्चन गर्ने मनसाय नभइ हङकङको नियम र भविष्यमा पर्न सक्ने व्यवधानका बारेमा जानकारी मात्र गराइएको धारणा सार्वजनिक गर्‍यो। हिन्सले कार्यक्रम गर्न लागेका संस्थाहरूलाई समन्वय गर्नका लागि मात्र आग्रह गरेको हो, तर मेयरसमक्ष यही कुरालाई गलत तरिकाले सायद प्रस्तुत गरियो, हिन्सको सार्वजनिक धारणामा भनिएको छ।