मुस्ताङ भेलबाढी: बगे सात पुल

मुस्ताङ भेलबाढी: बगे सात पुल

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन्।

बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  केसीले जानकारी दिए। यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मंगलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ।

अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए। बाढीले पुलहरूमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले बताए।