म कसैले भनेर रोकिने मान्छे हैन, म अप्ठ्यारो मान्छे हो : देउवा

म कसैले भनेर रोकिने मान्छे हैन, म अप्ठ्यारो मान्छे हो :  देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन पाउने अधिकार रहेको स्मरण गराएका हुन्।

बैठकमा देउवाले भने, ‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ। पार्र्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो। नेपालको संविधानको कुरा गरेको हो मैले। म संविधान मान्ने मान्छे हो।’ देउवाले अगाडि भने, ‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो। म छोड भनेर छोड्ने मान्छे होइन। म अप्ठ्यारो मान्छे हो है।

सभापति देउवाले बैठकमा महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ दिने सन्दर्भमा उक्त कुरा भनेका हुन्। महामन्त्री शर्माले सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका थिए। शर्माले पाँचपटक प्रधानमन्त्री भइसकेका सभापति देउवालाई सम्बोधन गर्दै मुलुक र पार्टीको हितमा हुने गरी अब छैटौंपटक प्रधानमन्त्री बन्नेतर्फ नलाग्न र सम्मानजनक बिदाइ हुन भन्दै अगाडि भने, ‘चितवनमा बोल्दा अवकाश लिने बेला आयो भन्नुभयो। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो। तर, नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ। विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ कि सभापति पदका लागि छ। तेस्रोपटक सभापति बन्न विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिजीले। सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ।’ 

शर्माले बैठकमा मुलुकमा स्थिर राजनीति नहुँदा उस्तै समस्याहरू दोहोरिएर देखा परेका भन्दै पाँचबुँदै प्रस्ताव गरेका छन्। शर्माले स्थिर सरकारका लागि अहिले भइरहेको प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताउँदै भने, ‘बितेको ७५ वर्षमा कोही पनि प्रधानमन्त्री लगातार पाँच वर्ष टिक्न सकेनन्। संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउनु जरुरी छ, त्यसका लागि मेरो ५ स्टेपको प्रस्ताव छ।’

१. आम निर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने विषय समेटिएको छ। जसमा दोस्रो वा तेस्रो दल पूरै अवधि सरकार बाहिर वा विपक्षीमा बस्ने भन्ने कुरा समेटिएको छ।
२. पहिलो हुने दललाई सामान्य बहुमत नपुगेको स्थितिमा जित्नेले सबै लग्ने सिद्धान्तबमोजिम निर्वाचनअघि नै आयोगमा बुझाइएका विज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने रहेको छ।