यी चार प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कैलालीको बचिलामा गएको एक घन्टामा १०.६ मिलिमिटर वर्षा भएको छ। बझाङको थलरामा ५ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो चौबीस घन्टामा कैलालीको गर्भ दरबार स्टेसनमा ११७ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।
थर्ड पोल 