विद्यालय शिक्षा विधेयकमा दलहरू सहमति नजिक, यी हुन् टुंगिएका विषय
कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षामा प्रारम्भिक बाल विकासलाई पनि समेट्ने गरी विद्यालय शिक्षा विधेयकमा दलहरू सहमति नजिक पुगेका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस्तो सहमति जुटाएको हो।
यसबाट निजी र सार्वजनिक विद्यालयमा बाल विकास शिक्षा सामान ढंगले अघि बढ्नेछ। निजी लगानी भएका र सार्वजनिक विद्यालयले सामान किसिमको पाठ्यक्रमबाट बाल विकास कक्षा सञ्चालन गर्नुपर्नेछ।
प्रारम्भिक बाल विकासलाई दुई वर्षीय कार्यक्रमका रूपमा सञ्चालन गर्ने सहमति पनि जुटेको छ। सार्वजनिक विद्यालयका हकमा सरकारले स्रोत सुनिश्चित गरेर तोकेको मितिदेखि मात्र यो व्यवस्था लागू हुनेछ।
समितिअन्तर्गत समन्वय तथा परामर्श उपसमितिले अनौपचारिक छलफलमार्फत् सहमतिको प्रयास गर्दै आएको छ। समिति सभापति अम्मरबहादुर थापाले नै यो उपसमितिको नेतृत्व गरेका छन्।
उपसमितिको छलफलमा कम्पनी कानुनअन्तर्गत विद्यालय स्थापना र सञ्चालनको निम्ति बाटो खुला गर्ने सहमति पनि भएको छ।
हाल कम्पनी कानुनअनुसार विद्यालय खोल्न बन्देज छ। शिक्षा ऐनको आठौं संशोधनले शैक्षिक गुठीअन्तर्गत मात्र विद्यालय सञ्चालनको अनमुति दिँदै आएको छ। अब भने कम्पनी कानुनअन्तर्गत पनि विद्यालय सञ्चालन गर्न सकिने प्रावधान नयाँ बन्ने ऐनमा राखिनेछ।
थर्ड पोल 