शवदाह गृहको मेसिन खरिद सम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी स्थगित

शवदाह गृहको मेसिन खरिद सम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी स्थगित

पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दाको पेसी स्थगित भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा तोकिएको उक्त पेसी प्रतिवादी पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो। आज विशेष अदालतमा सो मुद्दाको मात्रै पेसी तोकिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पशुपति परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना गरेको, हानि–नोक्सानी पुर्‍याएको र भ्रष्टाचारमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो।