सेयर बजार लगातार हरियो, कति भयो कारोबार ?

सेयर बजार लगातार हरियो, कति भयो कारोबार ?


काठमाडौं । सेयरबजार पछिल्ला केही कारोबार दिनयता लगातार हरियो छ। कारोबार रकममा समेत सुधार देखिँदै आएकामा आज भने केही घटेको छ। साताको पहिलो र दोस्रो कारोबार दिन ११ अर्ब पुगेको कारोबार तेस्रो कारोबार दिन ९ अर्ब ९० करोडमा खुम्चिएको छ। सूचक ७.१३ अंकले बढेसँगै बुधबार नेप्से २७६५.८८ विन्दुमा पुगेको छ। 

आज १ करोड ७८ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज बढ्ने सेयरहरुमा गार्डियन माइक्रो लाइफ, नेपाल ल्युब आयल, सपोर्ट माइक्रोफाइनान्स, भूगोल इनर्जी र नेपाल पुनर्बीमा छन्। यी कम्पनीहरुको क्रमशः १०, ९.९७, ८.९६, ८.४१ र ६.२८ प्रतिशतले सेयर बढेका छन्। 

तर विन नेपाल लघुवित्त, राप्ती हाइड्रो, रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रो र बोटलर्स नेपाल बालाजुको सेयर भने घटेको छ। यी कम्पनीको सेयर क्रमशः ८.९७, ६.६८, ४.६१, ४.१७ र ४.०४ प्रतिशतले घटेको हो। 

कारोबारतर्फ आज पनि हिमालयन रिइन्स्योरेन्स अगाडि छ। कम्पनीको १ अर्ब २ करोडको सर्वाधिक कारोबार भएको हो। यसबाहेक नेपाल पुनर्बीमाको ८३ करोड, हाइड्रोइलेक्ट्रिसिटीको २९ करोड, एनआरएन २७ करोड र सीईडीबी होल्डिंग्सको २४ करोडको सेयर कारोबार भएको छ।