०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याउने आधार तयार हुँदैछ: प्रवक्ता सापकोटा

०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याउने आधार तयार हुँदैछ: प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन्।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता सापकोटाले हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताउँदै आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका हुन्।

सोहीअनुसार पार्टीका जनवर्गीय संगठन, विभिन्न मोर्चाहरू पार्टी निर्माणमा लागेको उनले बताए।

उनले यसअघि कहिले एमाले, कहिले कांग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे।

‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो। अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्र्दाखेरी हाम्रो शहिद परिवारप्रति अलि उदासिनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियो,' उनले भने।