१६ औँ शताब्दीमा बनेको 'सौगा हिटी' को सफाइ र रङरोगन

१६ औँ शताब्दीमा बनेको 'सौगा हिटी' को सफाइ र रङरोगन

पाटन दरबार स्क्वायर नजिकैको ‘सौगा हिटी’ रोटरी न्यातपोलाको अग्रसरतामा सरसफाइ र रङरोगन गरिएको छ।

ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मङ्गलबजार प्रहरी चौकीको सहकार्य तथा रोटरी न्यातपोलका प्रविन महर्जनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
 
‘हिटीमा करिब ३ फिट पानी जमेको थियो,’ महर्जनले भने, ‘पहिलो चरणमा हिटीको पानी निकालियो, स्टिल ब्रस र प्रेसरपम्पले सफा गरेपछि हिटी रङ्गरोगन गरिएको हो। आवश्यक रङ केएनपी नेरोल्याकले सहयोग गरेको थियो।’

यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र सांस्कृतिक सम्पदा संरक्षण गर्ने अभियान रहेको क्लबका अध्यक्ष बिष्णुकान्त घिमिरेले बताए।

अध्यक्ष घिमिरेले भने, ‘यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने गरी विभिन्न योजना बनाएका छौँ, सौगा हिटी सरसफाइबाट यसको सुरूआत भएको छ।’