सबै जनालाई अलविदा भन्दै एक चिकित्सकद्वारा ‘सुसाइड नोट’ सार्वजनिक, उद्दार टोली परिचालन, यस्तो छ कारण

सबै जनालाई अलविदा भन्दै एक चिकित्सकद्वारा  ‘सुसाइड नोट’ सार्वजनिक, उद्दार टोली परिचालन, यस्तो छ कारण


काठमाडौं । हेटौँडा अस्पतालमा कार्यरत चिकित्सक केशव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक ‘गुडबाइ नोट’ लेख्दै आफू राजनीतिक हस्तक्षेप, गुटबन्दी, भ्रष्टाचारको विरोध, मानसिक यातना र अन्यायपूर्ण सरुवाका कारण आत्महत्या गर्न बाध्य भएको खुलासा गरेका छन्। 

बागमती प्रदेश लोकसेवाबाट स्थायी नियुक्ति पाएर रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत श्रेष्ठले अस्पतालमा व्याप्त अनियमितता, कमिसन चलखेल, स्थानीय नेताहरूको हस्तक्षेप र पदाधिकारीको स्वार्थविरुद्ध उभिएर सुधारको प्रयास गर्दा आफूलाई झूटा आरोपमा फसाइएर अन्यायपूर्वक सरुवा गरिएको आरोप लगाएका छन्। उनले अस्पताल सुधारका क्रममा केही कर्मचारी र चिकित्सकहरूलाई जवाफदेही बनाउँदा उनीहरूमार्फत झूटा उजुरी गराएर आफूविरुद्ध षड्यन्त्र रचिएको उल्लेख गरेका छन्।

 ‘शरीरमा १६ वटा टाँका लगाएर, श्रीमती र दुई वर्षकी छोरीसहित रातको ९ बजे रामेछाप छोडेर हेटौँडा पुगेँ, तर त्यहाँ पनि अपमान र अमानवीय व्यवहार मात्र पाइयो,’ भन्दै उनले व्यवस्थाको असंवेदनशीलता र स्वास्थ्य मन्त्रालयका जिम्मेवार व्यक्तिहरूको बेवास्ताले आफूलाई निराश बनाएको जनाएका छन्। ‘जिन्दगीबाट हार खाएँ’ भन्दै उनले आफूलाई यस्तो अवस्थासम्म ल्याउनेहरू कानूनी कठघरामा आउन् भन्ने चाहना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको यो स्टाटसपछि प्रहरी परिचालन गरिएको र उनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्।