मेयर हर्क साम्पाङ र उपमेयर बेघाबीच पुनः विवाद चर्कियो, यस्तो छ कारण
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) र उपमेयर आइन्द्रविक्रम बेघाबीच पुनः विवाद चर्किएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर मेयर र उपमेयरबेघाबीच विवाद चर्किएको हो ।
सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । आज भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका छन् ।
श्रमदान मार्फत भएको कामका लागि साम्पाङका समर्थकले १५ जनाको डोर हाजिरी मार्फत १ लाख ४८ हजाार ५ रुपैयाँ भुक्तानीका लागि पेश गरेका थिए । सर्दु कटान रोक्न श्रमदान मार्फत १७ लाख ४० हजार बराबरको काम भएको साम्पाङ पक्षको दाबी छ ।
‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै ९ लाख ९८ हजारको श्रमदान भएको र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागदाबी छ ।
विकास निर्माणको भुक्तानीका लागि उपमेयरले अनुगमन गरी प्रतिवेदन दिनुपर्छ । तर बेघाले यो कार्यको अनुमगन प्रतिवेदन दिन मानेका छैनन् । श्रमदान भन्दै समर्थकलाई डोर हाजिरीमा काम लगाएको भन्दै उनले प्रतिवेदन दिन नमानेका हुन् ।
अनुगमन गर्न नमानेपछि साम्पाङका समर्थकले बेघालाई हातपात गर्न खोजे । त्यसपछि सामाजिक सञ्जालमा बेघाविरुद्ध साम्पाङका समर्थकले आक्रोश पोखिरहेका छन् ।आज भने बेघाका समर्थक कार्यालय परिसरमा भेला भएका छन् । कार्यालय परिसरमा भेला भएका बेघा समर्थकले मेयरको समूहले अमानवीय व्यवहार देखाएको दाबी गरेका छन् ।
उनका अनुसार मेयर साम्पाङका समर्थकले श्रमदानबाट भएको काममा पनि डोर हाजिरीको भुक्तानीका लागि पेस गरेका छन् । उपभोक्ता समिति मार्फत भएको काममा तारजाली र डोर हाजिरीको भुक्तानीको विषय भएकाले अनुगमन नगरेको बेघाले बताए ।
मेयर हर्क साम्पाङले भने उपमेयरले अनुगमन गरेर प्रतिवेदन आफैं राखेको दाबी गरे । १७ लाख रुपैयाँको काम श्रमदान मार्फत ७ लाखमा सकेको बताउँदै उनले भुक्तानीका लागि उपमेयरले अवरोध गरेको बताए ।
‘
थर्ड पोल 