आजदेखि मेलम्ची खानेपानी बन्द, बर्खामा रिबर्मा खोलाको पानी ल्याइउने तयारी  

आजदेखि मेलम्ची खानेपानी बन्द, बर्खामा रिबर्मा खोलाको पानी ल्याइउने तयारी  


काठमाडौं । पछिल्लो समय अविरल वर्षा हुन थालेसँगै ‘मेलम्चीको खानेपानी’ पनि बन्द गरिएको छ। मेलम्चीमा बाढी आएर पानी धमिलिन थालेपछि आज बिहानैदेखि मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछाने जानकारी दिए।समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार हिजो पनि पानी धमिलिएपछि करिब दुई घण्टा मेलम्चीको पानी बन्द गरिएको थियो। 

केही दिनयता दैनिक ठूलो पानी पर्न थालेको छ। जसकारण मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन सकिने सम्भावना न्यून बन्दै गएको  छ। पानी सङ्लिएको खण्डमा मात्रै पानी पठाउन सकिन्छ। ‘बाढी पनि आउन थालेको छ,आयोजनामा क्षति नहोस् भनेर पनि अब बन्द गर्नुपर्ने नै अवस्था आयो,’उनले भने।

मेलम्चीको पानी बन्द भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) शाखाहरूले सूचना जारी गर्दै उपभोक्ताहरूलाई खानेपानी वितरण अवरुद्ध भएको जानकारी दिएका छन्।

केयुकेएल बानेश्वर शाखाले बिहानै सूचना जारी गर्दै भनेको छ,‘आज मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएको कारणले गर्दा अर्को सूचना जारी नभएसम्मलाई यस शाखाबाट वितरण हुने सम्पूर्ण डिएमएहरूको पानी वितरण अबद्ध हुने जानकारी गराउन चाहान्छौँ।’

सन् २००१ मा सुरू भएको मेलम्ची खानेपानी आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।

तर,२०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन। ०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ। अरू बेला नियमित मेलम्चीको पानी आए पनि वर्षेनी वर्षातको बेला मेलम्ची खानेपानी बन्द गर्नुपर्ने बाध्यता छ। त्यसो हुँदा हालसम्म पनि उपत्यकाबासीहरूले दीर्घकालीन रूपले पानीको उपभोग गर्न पाएका छैनन्।

त्यस्तै मेलम्ची खोलाको पानी बन्द भएपनि त्यही छेउमा रहेको रिबर्मा खोला पानी भने वर्षातको समयमा पनि नियमित काठमाडौं उपत्यकामा आउने भएको छ। यो सरकारले विकल्पको रूपमा लिएको खानेपानी स्रोत हो। समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार उक्त खोलाको पानी थिङग्रयाएर सोही मेलम्ची खानेपानीकै टनेलमा हालिएको छ। तर,वर्षातमा कम मात्रामा पानी उपत्यकामा आउने छ।