कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

उनकाअनुसार केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । अहिले बाँके नै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बसेका उनलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । अहिलेसम्म यो बैंक घोटाला प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन् । अन्यको संलग्नता देखिएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो ।