बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत 

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत 

काठमाडौं ।कैलालीमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ । उनलाई हिजो जिल्ला प्रहरी कार्यालय कैलालीले कार्यालयमै बोलाएर नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरेको हो । यस्तै केन्द्रीय प्रहरी कार्यालयले पनि उनलाई सम्मान गरेको छ । 

प्रहरी जवान देउवाले अस्ति मङगलवार बिहान कैलाली गोदावरी नगरपालिका १ बसन्तपुरको गुह्येश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छट्पटाइरहेकी २४ वर्षीया चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन् । बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई प्राप्त भएको थियो । महिला बिरामी रहेको खबर पाएपछि खैराना प्रहरी चौकीबाट प्रहरी हवल्दारसहित प्रहरी जवान देउवा त्यहाँ पुगेकी थिइन् । व्यथा लागेको अवस्थामा भेटिएकी चन्द्राले बाटोमै छोरालाई जन्म दिएकी थिइन् । सो क्रममा प्रहरी जवान देउवाले सघाएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

बाटोमै छोरा जन्माएकी चन्द्राको उद्धारका लागि पद्‌मा अस्पतालका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको टिम पनि त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सुर्खेतको भेरीगंगा नगरपालिका– ८ की चन्द्राले बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन् ।  प्रहरी पोशाकमै सुत्केरी गराएको भीडीओ सामाजिक सञ्जालमा आएपछि उनको प्रशंसा भइरहेको छ । चन्द्रीका प्रहरी चौकी खैरानामा कार्यरत छिन् ।