अमेरिकाले गर्यो इरानको फर्दोमा ३० हजार पाउन्डका ६ वटा बम प्रहार
अमेरिकाले इरानको फर्दो न्युक्लियर परियोजनामा ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेको न्युयोर्क टाइम्सले जनाएको छ।
यो बम खसालेपछि फर्दो काम नलाग्नेगरी ध्वस्त भएको हुन सक्ने आकलन गरिएको टाइम्सले जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै फर्दो परियोजना ध्वस्त भएको संकेत गरेका छन्। तर यसबारे यकिन तथ्य आउन बाँकी छ।
त्यस्तै, अमेरिकाले अर्को दुई न्युक्लियर परियोजना नतान्ज र इस्फहानमा सबमरिन (पनडुब्बी) बाट ३० वटा टमाहक क्रुज मिसाइलले आक्रमण गरेको छ।
टमाहक जमिनमा आक्रमण गर्ने शक्तिशाली अमेरिकी मिसाइल हुन्। यी मिसाइल समुद्रमा रहेका जहाज वा पानीमुनि रहने सबमरिनबाट पनि प्रहार गर्न सकिन्छ। १५०० किलोमिटर टाढासम्म प्रहार गर्न सकिने यी मिसाइल जमिनभन्दा केही माथि मात्र उड्ने हुनाले शत्रुपक्षको रडारले देख्न सक्दैन।
सुरुमा १९८० तिर अमेरिकाले विकास गरेका टमाहक मिसाइल पछिल्ला वर्षहरूमा थप आधुनिक र सशक्त बनाउँदै लगेको छ।
इसराइलले पछिल्ला दुई हप्तादेखि इरानमा जारी राखेको आक्रमणले उसको न्युक्लियर परियोजनामा खासै ठूलो क्षति पुर्याउन नसकेको आकलनपछि अमेरिकाले आफै आक्रमण गरेको हुनसक्ने टाइम्सले जनाएको छ।
इसराइलको आक्रमणले इरानको न्युक्लियर बम बनाउने क्षमतालाई जम्मा ९ महिना जति पछाडि धकेलेको अमेरिकी आकलन भएको पनि टाइम्सले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा न्युक्लियर बम बनाउन नदिने बताउँदै आएका थिए।
थर्ड पोल 