‘अर्नाको राजधानी’ कोशी टप्पुमा मनसुनी यात्रा

‘अर्नाको राजधानी’ कोशी टप्पुमा मनसुनी यात्रा

पालमा मनसुन सिजन भ्रमण/घुमफिरका लागि ‘अफ सिजन’ मानिन्छ । तर, यही मौसममा हरेक गन्तव्य सबैभन्दा चिटिक्क सजिएर बस्छन् ।

मनसुनको वर्षाले धुलोमात्र पखालिदिएको छैन, पात–पतिङ्गरदेखि ठुल्ठूला जंगलले रूप फेरेका हुन्छन् । खोला–नाला आफ्नो पूरै तागतसाथ बग्छन् ।

कोशी प्रदेशको ‘नखोजिएको हिरा’ कोशी टप्पु मनसुनमा यसैगरी सिँगारिएर बसेको छ । सात ठूला नदीको एकै रूप सप्तकोशीको विशाल भंगालो र त्यसले सिञ्चित क्षेत्र हो सप्तकोशी ।

प्रदेश सरकारले यस वर्ष ‘पर्यटन वर्ष २०८२’ मनाइरहेको छ । पर्यटन वर्ष निर्देशक समिति सदस्य तथा पूर्वका पर्यटन व्यवसायी वासुदेव बराल कोशी टप्पु यस भ्रमण वर्षको सबैभन्दा आकर्षक गन्तव्य मान्छन् ।

कोशी टप्पु ‘अर्नाको राजधानी’ मानिन्छ । तर, जब जंगल सफारी सुरु हुन्छ, यहाँ हात्तीका बथानबाट यात्रुले न्यायो स्वागत पाउँछन् । कोशी टप्पुमा घरपालुवा र जंगली दुवै प्रकृतिका हात्ती छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षका सिनियर गेमस्काउट नारायण बानियाँका अनुसार कोशी टप्पुमा पालिएका हात्ती पर्यटकका लागि प्रमुख आकर्षणका केन्द्र हुन् ।

‘यहाँ चितवन राष्ट्रिय निकुञ्जमा जस्तै हात्ती सफारी सुविधा त छैन, तर आगन्तुकसँग घरपालुवा हात्ती सहजै घुलमिल हुन्छन् । आगन्तुकले दिएको कोशेली सहजै स्वीकार गर्छन् र आशिर्वाद दिन्छन्,’ बराल भन्छन्, ‘हात्तीसँग यति आत्मीयता यहीँ घुम्न आउने पर्यटकले मात्र पाउँछन् ।’