आन्दोलनकारीले नेताहरूको घर खोज्दै हिँडेपछि रूपन्देहीमा कर्फ्यू आदेश

आन्दोलनकारीले नेताहरूको घर खोज्दै हिँडेपछि रूपन्देहीमा कर्फ्यू आदेश

जेनजी पुस्ताले सोमबार बिहानदेखि सुरू गरेको आन्दोलन अराजक बन्दै गएपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो।

‘जेनजी पुस्ताको आह्वानमा गरिएको आन्दोलन नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरिएको हो,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने। 

प्रमुख जिल्ला अधिकारी पाण्डेले आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने भन्दै खोज्दै हिँड्न थालेपछि कर्फ्यू लगाउनुपरेको बताए। 

जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।