आलु बिक्री गर्न कोसेली घर सञ्चालन

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।

गाउँपालिकाले वडा नं ४ डम्बर्खु शिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिए ।

उत्पादित आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुल्ला गरेको छ ।