इसराइल–इरान युद्धमा अमेरिका पनि होमिन सक्ने

इसराइल–इरान युद्धमा अमेरिका पनि होमिन सक्ने

इसराइल–इरान युद्धमा अमेरिका पनि सहभागी हुन सक्ने संकेत देखिएको छ।

विभिन्न अमेरिकी मिडियाका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार कार्यक्रम रोक्ने इसराइली आक्रमणमा अमेरिकी सेनालाई सहभागी गराउने लक्षण देखिएको छ।

ट्रम्प इरानको आणविक भट्टीमा हमला गर्ने निष्कर्षमा पुग्दै गएको ती मिडियाहरूले जनाएका छन्।

इसराइल–इरान युद्धका कारण क्यानडामा आइतबारदेखि सुरू भएको जी–७ राष्ट्रहरूको सम्मेलन बीचमै छाडेर सोमबार ट्रम्प अमेरिका फर्किएका थिए। त्यसपछि मंगलबार उनले ह्वाइट हाउसमा रहेको 'सिचुएसन रूम' मा सरकारका उच्च अधिकारी र जनरलहरूसँग सो मामिलाबारे करीब ८० मिनेट बैठक गरेका थिए।

त्यो बैठक सकिनेबित्तिकै उनले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन कुराकानी गरेका थिए। त्यसपछि अमेरिकाले इरानमाथि प्रहार गर्ने संकेत गर्दै त्यसो नहोस् भन्ने हो भने इरानले निःसर्त आत्मसमर्पण गर्नुपर्ने बताएका थिए।

अमेरिका युद्धमा सहभागी भए इरानले कडा जबाफ दिने र मध्यपूर्वमा रहेका अमेरिकी संरचनाहरूमा प्रहार गर्ने धम्की दिइरहेको छ। इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इरानमा अमेरिकाले सैनिक हस्तक्षेप गरे अपूरणीय क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्।

'अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानमा सैन्य हस्तक्षेप गरे उनीहरूले अपूरणीय क्षति बेहोर्नुपर्नेछ,' खमेनीका भनाइ उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ।

तर पनि ट्रम्पले इरानी आणविक भट्टीमा प्रहार गर्ने निर्णय लिन लागेको देखिन्छ।