उच्चको आदेशविरुद्ध सर्वोच्च जाँदै रवि, जिल्ला अदालतमा राखेको धरौटी के हुन्छ ?

उच्चको आदेशविरुद्ध सर्वोच्च जाँदै रवि, जिल्ला अदालतमा राखेको धरौटी के हुन्छ ?

उच्च अदालत तुल्सीपुरले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि जेल पठाएसँगै सहकारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । यसअघि चारवटा जिल्ला अदालतबाट धरौटीमा छुटेका उनलाई उच्चले थुनामै राख्न आदेश दिएको हो ।
प्रत्येक अदालतमा तोकिएको धरौटी बुझाएर छुटेका लामिछानेले धरौटी रकम बढी भएको भन्दै आफैँ पुनरावेदन गरेका थिए । सरकारी पक्षबाट पनि चारवटै आदेशहरूविरुद्ध पुनरावेदन भएका छन् । त्यसमध्ये तुल्सीपुर उच्च अदालतले रुपन्देही जिल्ला अदालतको आदेश उल्टाइदिएको हो ।
रुपन्देही जिल्ला अदालतमा रविले १ करोड रूपैयाँ धरौटी बुझाएर छुटेका थिए । जिल्ला अदालतको फैसला उच्चले उल्टाइदिएपछि लामिछानेले बुझाएको एक करोड रकम के हुन्छ भन्ने प्रश्न उठेको छ । साथै, अन्य अदालतहरुमा पनि लामिछानेले बेग्लाबेग्लै धरौटी रकम बुझाएका छन् । उनी जेलमै बस्नुपर्ने भएपछि अब अन्य अदालतमा बुझाएको रकम पनि फिर्ता हुन्छ या हुँदैन भन्ने जिज्ञासा समेत छ । 

अदालत स्रोतका अनुसार लामिछाने कारागार गएपछि धरौटी रकम कानूनः फिर्ता पाउनुपर्छ । त्यसका लागि उनले नै प्रक्रिया थाल्नुपर्ने स्रोतको भनाइ छ ।
लामिछानेलाई यसअघि धरौटी तोकेको रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले माथिल्लो अदालतले यहाँको आदेश बदर गरेर थुनामा पठाएपछि सम्बन्धित व्यक्ति कारागार गएर निवेदन दिए फिर्ता हुने बताउँछन् ।
‘कुनै पनि अभियुक्तलाई तल्लो अदालतले धरौटी लिएर रिहा गरेको छ र माथिल्लो अदालतले थुनामा पठायो भने धरौटी फिर्ता हुन्छ । ‘म थुनामा रहेँ, धरौटी फिर्ता पाऊँ’ भनी निवेदन दिएपछि जग्गा रहेछ भने रोक्का फुकुवा हुन्छ, नगद भए नगदै हुन्छ । त्यसका लागि पहिले निवेदन आउनुपर्यो,’ ज्ञवालीले नेपाल प्रेससँग भने ।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रूपैयाँ धरौटी लिएर बाहिरै बसी मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको थियो ।
गत माघ १३ गते जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको उक्त आदेशबमोजिम रविले तत्कालै १ करोड धरौटी जम्मा गरेका थिए । प्रभु बैंकमार्फत बैंक ग्यारेन्टीबाट उनको धरौटी राखिएकाले फुकुवा गर्न समय त लाग्दैन, तर लामिछानेको तर्फबाट आज नै उच्चको आदेशविरुद्ध सर्वोच्चमा रिट हुनसक्ने भएकाले धरौटी फुकुवाको विषयमा निधो नभएको बुझिएको छ ।
लामिछानेलाई यसअघि कास्की, काठमाडौं र चितवन जिल्ला अदालतले पनि अलग-अलग सहकारीको रकम ठगीसम्बन्धी अभियोगमा धरौटीमै रिहा गरेका थिए । काठमाडौंमा उनले ६० लाख र चितवनमा ५४ लाख रूपैयाँ धरौटी बुझाउनुपरेको थियो । यस्तै कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रविसँग ६५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
रास्वपा नेता दीपक न्यौपानेले धरौटी फिर्ताको प्रकृयामा तत्काल नजाने बताए । आज वा भोलिमै उच्चको आदेशविरुद्ध सर्वोच्च जाने उनको भनाइ छ ।
‘आज वा भोलि सर्वोच्च जाने तयारी छ, धरौटी फिर्ताको प्रकृयामा नजाने कि भन्ने नै छ अहिलेसम्म,’ उनले भने ।
कानूनी लडइँ जित्नेमा निर्धक्क लामिछाने
शुक्रबार पक्राउ परेपछि रुपन्देही प्रहरी हिरासतमा रहेका लामिछानेसँग पार्टीका नेताहरूले तारन्तार भेटिरहेका छन् । हिरासतमै पुगेर केन्द्रीय उपसभापति स्वर्णिम वाग्ले, सहकोषाध्यक्ष दीपक बोहरा, नेता दीपक न्यौपाने, रुपन्देही अध्यक्ष बुद्धि शर्मासहितका नेताहरू, कलाकार रामकृष्ण ढकालसमेतले उनलाई भेटेका छन् । रविले सबैसँग उनले मध्यरातमा आफूलाई अन्यायपूर्वक पक्राउ गरेको, कानुनी लडाईमा आफूले जित्ने बताइरहेका छन् ।
‘म आफैंले आदालतको आदेशलाई मानेर जान्छु भनेकै थिएँ, तर रातारात दौडाउनुपर्ने के आइलाग्यो यस्तो । बेडरुममै पुगेर कागज बनाउने, अदालतको आदेशको पत्रसमेत नपुग्दै घरमा जाने विषय आफैंमा गम्भीर छ,’ लामिछानेले रास्वपा नेता न्यौपानेसँग भनेका छन्, ‘कानूनी लडाइँ जितिन्छ, तत्काल सर्वोच्चको तयारी गर्नुहोला ।’ उनलाई भेटेका नेताहरूसँग निराशाका कुराहरु केही गरेका छैनन् ।
रास्वपा रुपन्देहीका अध्यक्ष बुद्धि शर्माले पनि हिजो उनलाई भेटेर फर्केका छन् । उनीसँग पनि छामिछानेको एउटै कुरा छ । नयाँशक्तिलाई सिध्याउने योजनाअनुरुप यसो गरिरहेको उनले नेताहरुलाई सेयर गरिरहेका छन् ।
‘मैले हिजो केही समय भेटेँ, केही राजनीतिक कुराहरू सभापतिले सुनाउनुभयो, यतिसम्म गैरजिम्मेवारी तरिकाको व्यवहार गर्छजस्तो लागेको थिएन, नयाँ शक्तिलाई सकाउने खेलोमा लागेका छन्, सबै सचेत हुनुपर्छ भन्नुभयो’ उनले सुनाए ।

पार्टीका नियमित गतिविधि र विशेषगरी बेथितिविरुद्धको अभियानलाई अघि बढाउन सभापतिको चासो रहेको उनले बताए ।

स्रोत ;नेपाल प्रेस