एमाले विधान महाधिवेशन: यी नेताले पाए व्यवस्थापनको जिम्मेवारी
नेकपा (एमाले) ले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ।
बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले विभिन्न नेताहरूलाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिएको हो।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ।
चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो? कतिले पार्टी छाडे? ती सबैको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख भीष्म अधिकारीले बताए।
यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।
स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको हो।
यस्तै सचिवालय र खानाको व्यवस्थापनको जिम्मा कार्यालय सचिव अधिकारीलाई दिइएको छ।
कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ।
थर्ड पोल 