कांग्रेस कार्यालयको ढोकैमा तरूण दलको आमरण अनशन
नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको ढोकामा भ्रातृ संस्था नेपाल तरूण दलका कार्यकर्ताहरू आमरण अनशनमा बसेका छन्।
महाधिवेशन माग गर्दै तरूण दलका रोजन राई, अम्बिका बाँस्कोटालगायत आइतबारदेखि आमरण अनशनमा बसेका हुन्।
महाधिवेशन गर्न नसक्ने तरूण दल तदर्थ समिति खारेजीको माग गर्दै उनीहरू अनशनमा बसेका छन्।
कांग्रेसले तरूण दलको महाधिवेशन गराउन सकेको छैन भने विद्वान गुरूङ नेतृत्वको समितिको म्याद थप गर्दै आएको छ।
कांग्रेसले फेरि विद्वान गुरूङ नेतृत्वकै समितिलाई अन्तिम पटक भन्दै म्याद थप गर्न खोजेपछि तरूण दलभित्र असतुष्टि देखा परेको हो।
उनीहरूले २०७८ सालमा तरूण दलको जिम्मेवारी दिँदा पार्टीले स्थानीय र आम निर्वाचन सम्पन्न भएको तीन महिना भित्र महाधिवेशन गर्न निर्देशन दिएको तर तदर्थ समितिले पटक पटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको उल्लेख गरेका छन्।
कांग्रेसको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वत: समाप्त हुने निर्णय गरेको, तरूण दलको कार्यलय भवन केन्द्रीय समितिलाई थाहा नदिइ निजी सम्पत्ति जसरी भत्काएर तरूण दललाई कार्यलयविहीन बनाएको आरोप पनि असन्तुष्ट पक्षको छ।
तरूण दलमा गुट उपगुट बनाएर लम्जुङमा अध्यक्ष विद्वान गुरूङकै उपस्थितिमा कार्यकर्तामाथि खुकुरी प्रहार भएको, गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणको लागि विनियोजित बजेटलाई तरूण दलको कार्यलय भवन निर्माणमा बजेट छुट्टिएको भनि गलत प्रचार गरेर लौह पुरूष गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको पनि उनीहरूको भनाइ छ।
थर्ड पोल 