कुलिङ पिरियडमा त्रुटि प्रकरण- रामहरि खतिवडाले दिए राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा
प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधि सभाको रोष्टमबाट खतिवडाले समिति सभापतिको पदबाट राजीनामाको घोषणा गरेका हुन्।
आफू एक इमान्दार जनप्रतिनिधि भएको पनि उनले बताए।
‘निजामती विधेयक (कुलिङ पिरियड) मा जुन दिन त्रुटि भएको बाहिर आएको थियो, त्यसै दिन मैले गाडीलगायत सुविधा बुझाइसकेको थिएँ,’ खतिवडाले भने, ‘२ वर्षे कुलिङ पिरियड राख्नुपर्छ भनेर सुरूदेखि नै मैले अडान लिएको थिएँ, समितिले पनि अडान लियो र समितिबाट पारित गरेर संसदमा पठाइएको थियो।’
विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिएको उनले बताए। ‘मबाट र समितिबाट त्रुटि भएको होइन,’ उनले भने, ‘यस्ता त्रुटि अब अन्तिम हुनेछन् भन्ने विश्वास छ।’ विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको उनले बताए।
उनले यस विषयमा आफ्नोमात्र कि संसदकै यसमा त्रुटि रह्यो भन्ने प्रश्न पनि गरेका छन्। कुलिङ पिरियड २ वर्ष रहने समितिको मनसायअनुसार राष्ट्रिय सभाबाट पारित भएर आउनेमा आफू विश्वस्त रहेको उनले बताए।
थर्ड पोल 