क्षति विवरण सहित जाहेरी दिने तयारीमा सर्वोच्च अदालत
सर्वोच्च अदालतले क्षति विवरण सहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।
अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनमा प्रहरीमा जाहेरी दिने तयारी छ।
सर्वोच्चले आइतबार बसेको पूर्ण बैठकले जाहेरी दिने निर्णय गरेको हो। त्यसअनुसार जाहेरी दिन लागेको हो।
‘किटान गरेर जाहेरी दिँदैनौं। सर्वोच्चमा भएको क्षति विवरण सहित प्रहरीमा जाहेरी दिन्छौं। पछि प्रतिवादी खुलेसँगै प्रहरीले मुद्दा अघि बढाउला,’ सहरजिस्ट्रार कोइरालाले भने।
जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगलागीमा परी दुई लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीबाट नष्ट भएका छन्।
आगलागी भएका दिनमा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो। जसमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण क्षति भएको हो। आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका छन्। जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा छन्। त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएका छन्।
थर्ड पोल 