जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिटमा आज सुनुवाइ
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।
यसअघि कार्त्तिक १२ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आज छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष कार्कीसहित सदस्य विज्ञानराज शर्मा र विश्ववेश्वर प्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन्। अधिवक्ता ढकालले रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रुपमा कुनै पनि कार्य नगर्न/ नगराउन अन्तरिम आदेश माग गरेका छन्।
थर्ड पोल 