ट्रम्प र सी भेट्नुअघि व्यापार सम्झौताको मस्यौदा तयार, दुवै देशले जनाए सहमति
अमेरिकी र चिनियाँ राष्ट्रपतिको बहुप्रतिक्षित भेटअघि दुई देशका उच्च अधिकारीहरूले व्यापार सम्झौताको मस्यौता तयार पारेका छन्।
आइतबार मलेसियाको क्लालालम्पुरमा १३ औं एसियन-युएस सम्मेलनमा भएको साइडलाइन वार्तामा दुई देशबीच हुने व्यापार सम्झौताको प्रारम्भिक मस्यौदा तयार भएको हो।
प्रारम्भिक मस्यौदामा अमेरिकी र चिनियाँ दुवै पक्षले सहमति जनाएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी पक्षबाट वित्तमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चिनियाँ पक्षबाट उपप्रिमियर हे लिफेङ तथा लि चेङ्गाङ लगायतका वार्ताकार सहभागी थिए।
दुवै पक्षले वार्ता सकारात्मक भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
वार्तापछि एबिसी टेलिभिजनको कार्यक्रममा बोल्दै अमेरिकी वित्तमन्त्री बेसेन्टले वार्तामा दुई देशबीच व्यापार विस्तार, निर्यात नियन्त्रण, शुल्क स्थगन, फेन्टानिलसम्बन्धी शुल्क र यससँगको सहकार्य लगायतका विषय छलफल भएको बताए।
वार्तामा दुर्लभ खनिजको विषय पनि समेटिएको थियो, जसमा चीनले यो वर्ष निर्यातमा कडा नीति लिएको छ।
वार्तामा विदेशी बन्दरगाह शुल्क र टिकटकको विषयमा पनि छलफल भएका छन्। ट्रम्पले लामो समयदेखि टिकटक अमेरिकी कम्पनीलाई बेच्न दबाब दिँदै आएका छन्। त्यसो नभए अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने भनेर यसअघि पटकपटक उनले चेतावनी दिँदै आएका छन्।
थर्ड पोल 