नेपालीलाई भारत लगेर मिर्गौला तस्करीः २५ जनाको निकाले मिर्गौला, पीडितलाई ५ हजार
काठमाडौं । नेपालीहरूलाई प्रलोभनमा पारेर भारत पुर्याई मिर्गौला निकाल्ने समूहका मुख्य व्यक्ति पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन ब्युरोले काठमाडौँ उपत्यका आसपासका जिल्लाहरूबाट मानिसहरूलाई ‘काम मिलाइदिन्छौँ’ भन्दै भारत लगेर मिर्गौला तस्करी गर्ने समूहको मुख्य नाइकेसहित ७ जनालाई पक्राउ गरेको हो ।
गत साउन २० मा ब्युरोले राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूको बयानको आधारमा मुख्य नाइकेसिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भई भारत नयाँ दिल्लीबस्ने ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रवती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती भारतबाट पक्राउ परेका हुन् । भण्डारी र भारती नयाँ दिल्ली स्थित लाजपत नगरमा बस्दै आएका थिए ।
भारतमा बस्नेहरूलाई उपत्यका आसपासका जिल्लाहरू काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङबाट मिर्गौला दाता सङ्कलन गरेर लैजाने थप दुई जना आइतबार काठमाडौँबाट पक्राउ परेका छन् । सविन पन्त र राजकुमार तामाङलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
आरोपीहरू विरुद्ध ५ जना पीडितहरूले प्रहरीकहाँ जाहेरी दिएका छन् ।
नयाँ दिल्लीमा लगेपछि निजी अस्पताल र क्लिनिकमा लगेर पीडितहरूलाई आँखामा पट्टि बाँधेर ३–४ दिनसम्म राखेर मिर्गौला निकाल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिर्गौला निकालेपछि गिरोहका सदस्यहरूले पीडितहरूलाई पैसा दिँदैनथे । अहिलेसम्म एक जना पीडितले जम्मा ५ हजार लिएको प्रहरीसँग बताएका छन् ।
त्यसैले उनीहरूविरूद्ध मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) २०६४ को परिच्छेद–४ दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाको दफा–१५ दण्डसजायको उपदफा (ग) अनुसार प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
थर्ड पोल 