नारायणघाटमा निकालिँदैछ रोपाइँ जात्रा

नारायणघाटमा निकालिँदैछ रोपाइँ जात्रा

चितवनको नारायणी कला मन्दिरले कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा निकाल्दैछ।

कृषि पेशामा आधारित नेपाली जनजीवनलाई प्रस्तुत गरिने यो जात्रा नारायणघाटमा हरेक वर्ष मनाइन्छ।

नारायणी कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले यस वर्ष २९ वटा संस्थाहरुको सहकार्यमा जात्रा निकाल्न लागिएको जानकारी दिए। उनकाअनुसार रोपाइँ सकिएपछि क्वाँटी खाएर जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिकरुपले समेत सक्षम भई भाद्र कृष्णाष्ठमीको दिन आनन्दपूर्वक रोपाइँ जात्रा निकाल्ने चलन छ।

यो जात्राले सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउन पनि भूमिका खेलेको उनी बताउँछन्।

जात्राकी संयोजक सुस्मिता श्रेष्ठले रोपाइँ जात्रासँगै राधा, कृष्णको झाँकीसहित सुन्दर रथको साथमा शोभायात्रा र भजनकीर्तन गर्दै नारायणघाट बजार परिक्रमा गर्ने बताइन्।

साथै पञ्चेबाजाको धुनमा रोपाइँको झझल्को दिने गरि निकालिने जात्रामा सडकमा अघि–अघि गोरु, पछि हली, बाउसे र रोपारले धान रोपेको देखाइने उनले बताइन्। जात्रामा पुरुषहरु महिलाको पहिरनमा प्रस्तुत भएर सडकमै धान रोप्छन्।