नवलपरासीमा नेपाली कांग्रेसको विवाद छताछुल्ल

नवलपरासीमा नेपाली कांग्रेसको विवाद छताछुल्ल

निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि पश्चिम नवलपरासीमा पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ।

गत निर्वाचनमा पार्टीका उम्मेदवारहरू देवेन्द्रराज कँडेल र विनोद चौधरीलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय अनुशासन आयोगले असार २५ गते महामन्त्री खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

महामन्त्री खनालमाथि नवलपरासी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीलाई हराउन अभिव्यक्ति र भूमिका खेलेको भन्दै २०७९ सालमा परेको उजुरीका आधारमा साढे दुई वर्षपछि कारबाही गरिएको थियो। खनालले गत निर्वाचनमा आफूलाई असहयोग गरेको भन्दै चौधरीले अनुशासन समितिमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा नेपाली कांग्रेस अनुशासन समितिले प्रदेश महामन्त्री खनालसहित २३ जना नेतामाथि कारबाही भएपछि अहिले कांग्रेस संस्थापनइतर पक्षको केन्द्रदेखि जिल्लासम्म खैलाबैला मच्चिएको छ।

अनुशासन समितिले गरेको कारबाहीप्रति नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बिहीबार बसेको बैठकले पार्टी संस्थापनले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेको निष्कर्षसहित प्रतिवाद गर्ने निर्णय गरेको थियो।