नवलपरासीमा सडक चिप्लो भएकाले वैकल्पिक रुटको प्रयोग गर्न प्रहरीको आग्रह

नवलपरासीमा सडक चिप्लो भएकाले वैकल्पिक रुटको प्रयोग गर्न प्रहरीको आग्रह

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा सडक हिलो र चिप्लो भएका कारण गाडी गुड्न समस्या भएको छ ।

विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा र ठाउँ–ठाउँमा हिलो भएका कारण समस्या भएको प्रहरीले जनाएको छ ।

डाभइर्सनमा क्षति भएका कारण विश्वकर्मा मन्दिर, घिउखोलालगायतका ठाउँमा सडक चिप्लो भई गाडी फस्ने र चिप्लिने गरेको छ ।

सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाण्डौबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ ।

पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।